भूकम्प र बाढीले उजाडिएको जीवन:जमुना बिकको कथा

काभ्रेको रोशी खोला किनारमा बसोबास गर्ने जमुना बिकको जीवन दुई ठूला विपत्तिको छायामा डुबेको छ। २०७२ सालको विनाशकारी भूकम्पले उनको घर भत्काएको थियो, जसबाट उनी र उनको परिवारले ठूलो क्षति बेहोरेका थिए। भूकम्पले लडाएको घर जसोतसो पुनर्निर्माण गरिएको थियो, तर अघिल्लो साताको बाढीले त्यो घर पनि भत्काइदिएको छ, जमुनालाई पुनः विस्थापित बनाउँदै।

भूकम्पले घर लड्यो, बस्ने बास भएन, जमुनाले भनिन्, जसोतसो टहरामै बसेर २/३ वर्ष लगाएर नयाँ घर बनाइयो, सरकारले दिएको ३ लाख रुपैयाँले मात्र घर नबन्ने रहेछ, ऋण खोज–खाजगरेर घर बनाएका थियौं, त्यो घर पनि अब रहेन।

जमुनाको परिवारमा तीन छोरा छन्। जेठा र माइला छोराले छुट्टाछुट्टै दुई वटा घर बनाएका छन्। कान्छोछोराबुहारी, सासुससुरासहित जमुना र उनका श्रीमान् एउटा घरमा बस्दै आएका थिए। भूकम्पले विस्थापित गरेपछि नयाँ घर बनाएको जमुनाको परिवार अहिले बाढीले विस्थापित भएको छ।

हामी दुःखीलाई नै विपत्तिले घरी–घरी घेर्दो रहेछ, उनले दुःख व्यक्त गर्दै भनिन्, भूकम्पले घर लड्यो, बस्ने बास नभएपछि, नयाँ घर बनाइयो, यहाँ बसेको ४/५ वर्षमै यहाँ पनि बाढीले घर नै लडायो, अब त घर बनाउने ठाउँ पनि कहाँ बनाउने, कसरी बनाउने?

जमुनालाई अहिले यहिँ चिन्ताले सताएको छ। उनका अनुसार यहाँ भएको ५ रोपनी जग्गा पनि बाढीले सबै लग्यो, जग्गाको नाम–निसाना केही बाँकी नै छैन।

बालीनाली केही रहेन के खाने, के गर्ने? ठूलो परिवार छ। अहिले पाएको राहतले केही दिनलाई त पुग्ला, उनले भनिन्, सुत्केरी बुहारी, रोगी सासुससुरा, अपांगछोरा छ। दुई–चार दिन त यहीँ बसौंला, सधैं यहाँ बस्न सकिँदैन, घर बनाउन न ठाउँ छ न पैसा।

जमुनाको परिवार अहिले घरभन्दा माथिको डाँडामा रहेको पाटीमा बस्दै आएका छन्। उनीहरुको भविष्य अनिश्चित छ। जमुनाको कथा नेपालमा विपत्तिले निम्त्याएको दुःख र पीडाको एउटा उदाहरण मात्र हो।

यस घटनाले सरकार र सम्बन्धित निकायलाई विपत्ति जोखिम न्यूनीकरण र प्रभावित परिवारको पुनर्वासका लागि प्रभावकारी योजना बनाउन आह्वान गर्छ।


>>> Read more <<<

Views: 0

发表回复

您的邮箱地址不会被公开。 必填项已用 * 标注